राष्ट्रपति अल्वीद्वारा मध्यरातमा पाकिस्तानको संसद विघटन

तीन दिनभित्र कामचलाउ सरकार गठन गरिने

पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानी तल्लो सदन विघटन गरेका छन् । राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा गएराति मध्यरातबाट लागू हुनेगरी संसद भंग गरेका हुन । कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन संविधान बमोजिम प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग अब तीन दिनको समय दिइएको छ । तीन दिनमा नाममा सहमति हुन नसके अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुनेछ ।  तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ । अन्तिम टुंगो भने आयोगले गर्नेछ । संसद् विघटनपछि अब ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछ । आगामी निर्वाचनको मिति लम्ब्याउने उद्देश्यले कार्यकाल सकिन तीन दिनमात्रै बाँकी रहँदा संसद विघटन गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार स्वतः कार्यकाल सकिएमा त्यसको ६० दिनभित्र तर विघटन भएको अवस्थामा भने ९० दिनभित्र आम निर्वाचन गराउनु पर्ने प्रावधान छ । संसद विघटनपछि पूर्व प्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा परेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई तीन वर्षे जेल सजाय भोगिरहेका खानलाई निर्वाचन आयोगले पाँच वर्ष चुनावमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । 
 

प्रतिक्रिया