जुम्लामा राष्ट्रिय परिचय पत्र बनाउन टोली परिचालन
जुम्ला । सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पछि यहाँ परिचय पत्र बनाउनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचय पत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।
कार्यालयको राष्ट्रिय परिचय पत्र शाखामा दैनिक ८० जना भन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचय पत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए ।
यहाँका आठ वटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचय पत्र बनाउनेको टोली समेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वदेशमा रोजगारीको सम्भावना नदेखे पछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।
रासस
प्रतिक्रिया