अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्म भन्दा ह्यारिस अगाडि

एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले अग्रता कायम राखेकी छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै ह्यारिस अर्का उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा एक प्रतिशतले अघि देखिएको जनाएको हो । सर्वेक्षणमा कमलाको पक्षमा ४८ र ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ । 

यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त नहुने बीबीसीको भनाइ छ । विश्वशक्ति अमेरिकाको राष्ट्रपति चुनावले अहिले विश्वकै ध्यानकेन्द्रित गरेको छ ।

नोभेम्बर ५ मा हुने चुनावले अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित गर्नेछ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् । साढे दुई सय वर्षको अमेरिकी इतिहासमा ४६ जना पुरुषहरूले शासन गरेका छन् । यसपाली अमेरिकाले महिला राष्ट्रपती पाउने सम्भावना भए पनि प्रतिस्पर्धा निकै कडा रहेको सर्वेक्षणले औल्याएका छन् । 

अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरल कलेज भोट छन् । जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २ सय ७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन् । तर, तीमध्ये धेरै जसोले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन् । दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनै बाट उम्मेदवारको जीत वा पराजय तय हुनेछ । 

प्रतिक्रिया