कोरलामा खानेपानी र शौचालयको अभाव

म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । 

समुन्द्री सतह देखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपाल तर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गरिन् । 

“एउटा सार्वजनिक शौचालय भए पनि फोहोर भएकाले प्रयोग गर्न नमिल्ने भएको रहेछ,” उनले भनिन्, “पानीको पनि सुविधा नभएकाले झाडी खोज्नुपर्दा असहज भयो ।” नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका अनुसार असोज महिनायता दैनिक तीन सय वटाको हाराहारीमा बस, जिप र मोटरसाइकलमा हजारौँ आन्तरिक पर्यटकहरू कोरला नाका घुम्न पुगेका छन् । 

छोसेर देखि माथि कोरला तर्फ विदेशी पर्यटकलाई निषेध गरिएको छ । आन्तरिक पर्यटकहरूलाई पनि नेचुङ भन्दा माथि क्यामेरा लैजान र कोरोला नाकामा चीन तर्फ फर्किएर तस्बिर खिच्न रोक लगाइएको छ । सुक्खा मरुभूमि जस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरू कोरला नाका पुग्ने गर्छन् ।  मोटरसाइकल चढेर कोरला नाका पुगेका पोखराका सौरभ गौतमले सूचनामूलक होडिङ बोर्ड र फोहोर फाल्ने डस्टबिन राख्नुपर्ने बताए । 

प्रदेश सरकारले सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवनमा गत हप्ता अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालय स्थापना गर्नु अघि कोरला नाकामा मोबाइल, इन्टरनेट र विद्युत् सुविधा विस्तार भएको थियो । 

कोरलामा व्यवसाय गर्दै आएका लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले खानेपानी र शौचालयको अभाव खट्किएको बताए । “चीनले कहिले काहीँ ट्याङ्करमा दिने पानीले पुग्दैन,” उनले भने, “१० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ ।”

संसदीय समितिको सुझाव 

कात्तिक दोस्रो साता गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरेको थियो । निरीक्षणमा सहभागी मुस्ताङ बाट निर्वाचित प्रदेशसभा सदस्य विकल शेरचनले कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको विषयमा सरकारलाई सुझाव दिएको बताए । खानेपानी र शौचालयका साथै फोहोर व्यवस्थापनका लागि तत्कालै काम गर्नुपर्ने उनले बताए। 

कोरोना महामारी फैलिए पछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो । चार वर्ष पछि २०८० कात्तिक २७ गते कोरला नाका सञ्चालन भएको थियो । त्यस अघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तर्देशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता देखिएको गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिका सदस्य हरिबहादुर भण्डारीले बताए । 

चीनलाई सुरक्षा प्रति विश्वस्त बनाउन नाकामा सुरक्षा र राज्यका निकायको नियमित उपस्थितिका लागि पूर्वाधार निर्माणको काम तत्कालै अघि बनाउन समितिले सरकारलाई सुझाव दिएको छ । कोरलामा बन्दरगाह निर्माणका लागि सरकारले एक हजार रोपनी जग्गाको व्यवस्थापन पनि गरिरहेको छ । तर, स्थायी भौतिक संरचना बनाउन बजेट व्यवस्थापन तथा काम शुरु भएको छैन । 

नेपाली टहरामा, चीन तर्फ भव्य महल
 
कोरलाको चीन तर्फ निर्माण भएको भवन भित्र पसलहरू छन् । भवन पछाडि ठुलो बस्ती बसेको छ । चीनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रवेश अनुमतिपत्रका आधारमा मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा चिनियाँ बजारमा किनमेलका लागि जाने गर्छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाका लागि पनि प्रवेशपत्र वितरणको काम भइरहेको छ । 

हाल सम्म करिब तीन हजार जनाले प्रवेश अनुमति पत्र लिएका प्रशासनले जनाएको छ । छोसेरका व्यवसायीहरुले नेपाल तर्फ त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिया तथा खाजा पसल खुले पछि पर्यटक र व्यापारीलाई सहज भएको छ । अस्थायी टहरा नहुँदा चिसो बतास चल्ने सो ठाउँमा चिसोले पाँच मिनेट टिक्न पनि मुस्किल पर्ने गरेको थियो । 

चिनियाँ बजार बाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपाल तर्फ बाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिना लगायत सामान निकासी गर्न सकिने सम्भावना रहेको छ । 

हाल चीन बाट आयात मात्र भएको छ । नेपाली सामान चीन तर्फ निकासी हुन सकेको छैन । आर्थिक वर्ष २०८०/८१ मा आठ लाख राजस्व सङ्कलन गरेको नेचुङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक लाख १० हजार राजस्व उठेको जनाएको छ । 

कोरला बाट ल्याएको सामान जाँच पास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट भएको व्यवसायी मीना गुरुङले बताइन् । अध्यागमन कार्यालय सँगै भन्सार सम्बन्धी सेवा र सुरक्षा पोष्ट पनि कोरलामै राख्नुपर्ने व्यवसायीहरूले बताएका छन् । 

सरकारको प्रतिबद्धता 

अधिकृतको नेतृत्वमा आठ जना कर्मचारी रहने गरी स्थापना भएको अध्यागमन कार्यालय चीन बाट नेपाल आउन र नेपाल बाट चीन जानका लागि भिसा जारी गर्ने, भिसा ट्रान्सफर सम्बन्धी सेवा प्रवाह हुने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । 

अध्यागमन कार्यालयको कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए । उनले कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको, हिन्दु धर्मावलम्बीहरूलाई मानसरोवरको तीर्थयात्रा र बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आवत जावतको व्यवस्था मिलाइने बताएका थिए । 

उनले नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बीओपी)को भवनको पनि उद्घाटन गरेका थिए । जोमसोम देखि कोरला नाका सम्म एक सय दश किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक स्तरोन्नति थालिएको आठ वर्षमा पनि पूर्णता पाएको छैन । पोखरा सम्मकै सडकलाई सहज बनाउन सरकारले प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताएका थिए । लोमान्थाङको लुङ्कुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वर्ष प्रदेश सरकारको ५० लाख बजेट बाट बनेको भवनमा अध्यागमन कार्यालय स्थापना भएको बताउँदै थप आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह र सङ्घीय सरकार सँग समन्वय तथा साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए । चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई गण्डकी प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नतिको काम भइरहेको पनि उनले बताए ।
रासस
 

प्रतिक्रिया