बाँदरले दुःख दिए पछि कृषक कफी खेतीमा आकर्षित
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादन सँग जोड्न कफी खेती गर्ने अभियान सहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । युवापुस्तामा कफी प्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए । उनले भने, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।”
किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्था समेत सहकारीले गरिदिने उनको भनाइ छ । “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भए पछि बिक्रीको जिम्मा समेत लिन्छौँ,” उनले भने, “एक किलो होस् वा एक सय किलो बिक्री भए पछि बजारको चिन्ता लिनु पर्दैन ।” गुरुङले सबै भन्दा चाँडो उत्पादन लिन सकिने र बाँदर बाट कम क्षति हुने कफी खेतीलाई प्रोत्साहन गरिएको बताए ।
शुक्लागण्डकी नगरपालिका भित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आय आर्जनमा जोड्ने उद्देश्य सहित कफी खेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । उनले भने, “यहाँ उत्पादन हुने कफीले युवाहरुको कफी प्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।”
नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादन सँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवा सँग उपप्रमुख कार्यक्रम मार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।
शुक्लागण्डकीको आठ सय मिटर देखि एक हजार चार सय मिटर उचाइ सम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेती तर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ । यस अगाडि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जा लगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्ष देखि कृषि बहुउद्देश्यीय सहकारी संस्था सँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उनको भनाइ छ ।
बाँदर लगायतको वन्यजन्तु बाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफी खेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरी तयारी गरिएको छ ।
रासस
प्रतिक्रिया