‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ । तनहुँको भानु नगरपालिका–१३ सम्जुर स्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । 

क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्य स्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिए । उनले भने, “यसलाई विशेषगरी टिकटक पार्कको रूपमा विकास गरिएको छ । गाउँमा पर्यटकीय स्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने हाम्रो मुख्य उद्देश्य हो ।”

बानियाँका अनुसार हाल दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । “दशैंका बेला यहाँ रोटेपिङ हालेका थियौँ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । ३० फिट अग्लो नेपालको झण्डा फहराएका छौँ । विश्रामस्थल समेत बनाएका छौं । हरियाली डाँडापाखाको दृश्यले धेरैलाई लोभ्याउँछ”, उनले भने । 

ओझेलमा रहेको सम्जुर गाउँको प्रचारप्रसारका लागि यहाँ पार्क निर्माण गरिएको हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने अभियान अन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको अध्यक्ष बानियाँले उल्लेख गरे । 

पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यही रहेका युवाले श्रमदान गरेका थिए । यस ठाउँलाई थप आकर्षक बनाउन अन्य पूर्वाधार समेत निर्माण गर्ने क्लबको योजना रहेको जनाइएको छ । 
रासस 

प्रतिक्रिया