दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
सुनसरी । तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गच्छे अनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्ति अनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।
आज हामी तपाईहरूलाई यो भन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छे अनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए ।
मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाए । उनका कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा उनले भने,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।”
मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्री वितरण गर्नु हो । चाडपर्व, व्रतबन्ध लगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रि वितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ । विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्ति बाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्री वापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।
विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवाना समेत गर्ने गरिएको छ ।
आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्न समेत सक्ने चलन रहेको छ । एक गाउँ बेच्दा तीन लाख देखि चार लाख वा सामाजिक मूल्याङकन अनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए । दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमति समेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए ।
रासस
प्रतिक्रिया