रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा बिहानै देखि भक्तजनको घुइँचो
काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानै देखि काठमाडौं स्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । मन्दिर बिहानै देखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए । मन्दिर आज भक्तजन आए सम्म खुला गरिने पनि उनले बताए ।
खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । यहाँ पनि आज बिहानै देखि भक्तजनको घुइँचो लागेको छ ।
“विसं २०३५ अघि रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने ।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।
प्रतिक्रिया