म्याग्दीको बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहार देखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । 

आगलागी जन्य विपद् नहोस् भन्ने कामना सहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए । “धार्मिक विधि अनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन शुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ”, उनले भने, “आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ ।”

बरङ्जाको शिलाथुर स्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व शुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरे पछि पर्व सकिएको मानिन्छ ।

बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास शुरु भए देखि शुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष रोकाले बताए । 

कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधाम सँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबार देखि तीन दिन सम्म मनाइने धुले पर्व पछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँद भरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परे पछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताए । 
रासस 

प्रतिक्रिया