२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती
सुर्खेत । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजो आज फूल बेच्न व्यस्त छन् । अरु बेला भन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ ।
उनले तिहारमा मात्रै पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राखेका छन् । भाइटीका आउन एक दिन अघि सम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम चार सयमा बिक्री हुने गरेको छ ।
समीर भन्छन्, “तिहार र छठ पर्व सम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको छ । अहिले फुलको मुल्य पनि राम्रै छ, तिहारमा मात्रै पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु ।”
२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकाम देखि पूर्वी क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिएका छन् । वार्षिक आम्दानी आठ लाख सम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरेका छन् । “अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबै भन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ”, समीरको भनाइ छ ।
उनले यो व्यवसाय शुरु गरेको दुई वर्ष भयो । गत वर्ष सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यस वर्ष दश लाख आम्दानीमा आशावादी छन् । “गतवर्ष २० क्विन्टल भन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यस वर्ष पहिलो भन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गा बाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु”, उनले भने ।
समीरले वायो ग्रीन एग्रो प्रा.लि. नामक फर्म दर्ता गरेर त्यही मार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफू जस्ता व्यवसायीहरू मारमा परेको उनको दुखेसो छ । त्यसैले सरकारले बाहिर बाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।उनी भन्छन्, “हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर, अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर, यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।”
भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिर बाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।
रासस
प्रतिक्रिया