देउसी भैलोमा मौलिकता हराउँदै, बुढापाका चिन्तित
बागलुङ । देउसी भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिका देखि वृद्धवृद्धा सम्म देउसी भैलोमा रमाउने गर्छन् ।
सोरठी, मारुनी सहित पुराना नाच नाचेर खेलिने देउसी भैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृति सहित देउसी भैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक शुरु भएपछि बागलुङ बजार सहित ग्रामीण क्षेत्रमा देउसी भैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर, यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ ।
तिहार पर्व सँग मादल, बासुरी, खैजडी लगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसी भैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र र्याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, र्याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् ।
निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसी भैलोलाई आधुनिकताले प्रभावित गरेको बताए । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकता सहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उनको कथन छ । भैलोको माध्यम बाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजो आज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जनाए । “जुग जमाना सँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसी भैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन”, उनले भने,“हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित गर्यो ।”
गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताए । तिहार पर्व र देउसी भैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उनको भनाइ छ । “मौलिकता जोगाउने भन्ने चाहना छैन, हाम्रो पहिचान के हो ? तिहारमा के गाउने ? कस्तो नाच्ने भन्ने पनि ज्ञान छैन, उही विदेशी गीत गाएर नाच्छन्, न त्यसमा मौलिकता छ, न कुनै नेपालीपन, अरुको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा कयौँ संस्कृति लोप भए”, उनले भने ।
काठेखोला गाउँपालिका–१ का २७ वर्षीय कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार्नु हुन्छ । अहिले देउसी भैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रूपमा मौलिकता गुमिसकेकाले यस तर्फ ध्यान दिन भने आवश्यक रहेको उनको भनाइ छ ।
रासस
प्रतिक्रिया