आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

उनले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा भनिएको छ, “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।”

तिहार हिन्दू धर्मालम्बीहरूको बाहुल्य भएका नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकहरूमा तामझामका साथ मनाइन्छ । नेपालीहरू अन्य देशमा बसोबास गर्नेको सङ्ख्या बढेसँगै विभिन्न देशहरूमा तिहारलाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ ।

यमपञ्चकमा काग, कुकुर, गाई–गोरु आदिको पूजा गरिने भएकाले तिहारलाई जनावर एवम् प्रकृति सँगको मानव सम्बन्ध दर्शाउने पर्वका रूपमा लिइन्छ । साथै दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्धलाई बलियो बनाउन विशेष भूमिका निभाएकाले यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो”, सन्देशमा भनिएको छ, “तिहार जस्ता पर्वले विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु ।“

तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दूहरूको सबै भन्दा ठूला पर्वहरू मध्ये एक हो । यो पर्व नेपाली हिन्दू पात्रो अनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म पाँच दिन मनाइन्छ । 
रासस 

प्रतिक्रिया