अछाममा ट्रयाक्टर दुर्घटना : ७ जना घाइते, २ जनाको अवस्था गम्भीर

अछाम । जिल्लाको ढकारी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

घाइतेमध्ये दुईजना ढकारी गाउँपालिका१ रिमा स्थित लयगाउँका ३२ वर्षीय दिनेश रिमाल र ४६ वर्षीय धने टमटाको अवस्था गम्भीर रहेको छ । 

रिमाल र टमटा दुबै जनालाई ढकारी गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । उनीहरुको मंगलसेनमा उपचार सम्भव नदेखिए गाउँपालिकाकै गाडीमा अन्य सुविधासम्पन्न अस्पताल लगिने जनाइएको छ ।

चाइरा स्थित खेतबाट घाइते रिमाल र टमटाको धान र पराल बोकेर ढकारी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्रयाक्टर राउलासैनको कच्ची सडकमा पल्टिदा उनीहरु घाइते भएका हुन् । अन्य घाइतेहरु पनि सबै उनीहरुकै गाउँका हुन् । 

घटनामा परेर घाइते हुनेहरुमा दिनेशकै छोरा १० वर्षीय लोकेश रिमाल सहित उनकै गाउँका ५७ वर्षीय मनराजे टमटा, १६ वर्षीया कविता टमटा, १७ वर्षीया खिमा टमटा र १३ वर्षीया जनधरा टमटा रहेका छन् ।

ट्रयाक्टरको क्षमता भन्दा धेरै धान, पराल लोड गरेर मानिसहरु पनि बसेका कारण दुर्घटना भएको स्थानियको अनुमान छ । 

स्थानिय लालुराज भण्डारीको ट्रयाक्टर भाडामा लिएर रिमाल र टमटा चाइरा स्थित खेतको धान दाँइ हालेर फर्किने बेला दुर्घटना भएको हो ।

ट्रयाक्टरमा गाउँ फर्किदै गरेका ११ जना चढेका थिए । उनीहरु मध्ये सातजना घाइते भएका हुन् भने रिमाल र टमटा बाहेक अन्य पाँच जनाको ढकारी स्वास्थ्य चौकिमा उपचार गरिएको छ ।

प्रतिक्रिया