रुपन्देही प्रहरीले भन्यो- रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउनु, अनुसन्धान अघि बढाउँछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । 

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले कास्कीको हिरासतमा राखिएको छ ।

सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कात्तिक १४ गते बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए । उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ ।’

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् ।

 २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सागर केसीले सदर गरेका हुन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् ।

सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए । सुप्रिमका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ । सो १४ करोडमा रविको नामबाट आएको दुई करोड पनि जोडिएको छ ।

प्रतिक्रिया