‘शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’

बाँके । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएका छन् । 

नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । उनले नागरिकलाई शान्ति, सुरक्षा प्रदान गर्दै चाडपर्व निर्धक्क सँग मनाउने वातावरण सरकारले बनाएको बताए । 

“चाडपर्वको बेला कालोबजारी गरी उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने कार्यलाई रोक्न पार्न प्रदेश सरकारले सम्वद्ध निकायलाई आग्रह गरेको छ”, मन्त्री अग्रवालले भने, “कहीँकतै कानून विपरित कार्य भए आवश्यक कानूनी कारबाही गर्न आदेश गरिएको छ ।” 

नेपालगञ्जमा नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निमाण गर्न प्रदेश सरकारले सधैँ सहयोग गर्ने उल्लेख गर्दै उनले भने, “नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवत्का प्रवर्तक हुनुका साथै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उनको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।”

लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले शुभकामना प्रदान गरेको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिए । 
रासस 

प्रतिक्रिया