अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

काठमाडौं ।  झण्डै ६ महिना अघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर, त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो ।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भएका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी ।

सो प्रस्तावले विजय शुरुमा त अन्योलमा परे। केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई साता सम्म उनले प्रस्ताव माथि कुनै ठोस निर्णय गरेनन् । आफू भित्रको अभिनेतालाई प्रश्न गरे । ‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई साता सम्म कुनै निर्णय गरिन’’, उनले सम्झना गर्दै भने, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्न सक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशी सहितको शुन्यता ।’ 

यति भन्दैगर्दा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौं आएको समय स्मृतिमा पुगे । विजयका अनुसार काठमाडौं छिर्दा उनी सँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उनलाई  लाग्थ्यो उनी त्यो बेलाका चर्चित हास्य कलाकार भन्दा उम्दा बनेर निस्किनेछन्, कडा बन्नेछन् । 

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गथ्र्ये । कक्षा आठमा उनले पहिलो पटक आफ्नो क्षमता सार्वजनिक रुपमा पस्किए ।  त्यतिबेला उनले आवाजहरूको नक्कल सँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गरेका थिए । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उनको धेरै प्रशंसा गरे । 

‘‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ) राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनय तर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले पूराना दिनहरू ताजा गर्दै सुनाए । जब उनी रङ्गमञ्च तर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए । उनलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो । 

‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उनले भने ।  उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन् ।  ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’ 

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगे पछि आफ्नो कला चेत खुलेको उनी बताउछन् ।  त्यो कार्यशाला उनका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पुगेका एमके रैना बाट उनी  प्रशिक्षित भए ।  ‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोण बाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोण बाट पनि हेरिरहिएको छ । सबै प्रकार बाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँ बाट बल्ल मेरो चेत खुल्यो’’, उनले भने । 

बीचमा उनले कलाकार हुने सपना हल्लिए जस्तो पनि भयो । उनका  बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढेका  थिए । यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेका थिएनन् । बुबाले केही नभने पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइ रहेका थिए । हजुरबुबा विजयलाई भन्ने गथ्र्ये –‘‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिए ।  यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन् । उनले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन् तर, ‘कबड्डी’ चलचित्र गरे पछि भने थाहा पाए । उनी छोराको काम बाट खुशी भए । 

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘‘बुबालाई लामो समय सँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाएनन् । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भने । 

‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खला सहित दर्जनौं चलचित्रमा अभिनेता बनिसकेका छन् भने आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनेका छन् । उनले अधिकांश सहायक भूमिका नै गरेका छन् ।  सबैभन्दा बढी चर्चा उहाँले ‘कबड्डी’ चलचित्रको श्रृङ्खला बाट बटुले । उनी सो चलचित्रको ‘बिके’ पात्र बाट नेपाली दर्शक माझ परिचित भए । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भएका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको छ । 

यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिएका छन् । उनी  पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए ।  सहायक भूमिका उनलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनी माथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउछन् । 

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गरे। यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्नाका लागि आफूले यस्तो गरेको उनको भनाइ छ ।

‘‘हामी जस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । उनले भने । 

आज उनी स्वयं आफू कसैको छोरा त हुन नै त्यो सँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन् ।  यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरेका छन् । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उनी बताउछन् ।  ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उनले भने । 

उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन् । ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उनले भने । 

आज बुबाको सबै भावना उनलाई महशुस हुन्छ । उनी भन्छन् – ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । विजयका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’ 

विजयका बुबा घुमघाममा रुचि राख्छन् । त्यसैले उनी धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन् ।  ‘‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र ?’’, विजयले आफ्ना बाबुले भनेका कुरा सम्झिए । 

‘‘उहाँको जवाफले बाबुहरू चाहीँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ’’, विजयले भने , ‘‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउने उनको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबु सँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’’, उनले भने , ‘‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बाबु सँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’’ 

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्र प्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन् ।  ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ । 
रासस 

प्रतिक्रिया