जाजरकोटक भूकम्पको एक वर्ष, सरकारले दिने रकम सबै प्रभावितले अझै पाउन सकेनन्
काठमाडौं । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको शनिबार एक वर्ष पुगेको छ । भूकम्पले घरवार विहीन भएकाहरुको अझै पुनःस्थापना भइसकेको छैन भने अस्थायी आवास बनाउन सरकारले दिने भनेको रकमसमेत सबै प्रभावितले पाउन सकेका छैनन ।
सरकारले अस्थायी आवास बनाउन दुई किस्तामा गरेर लाभग्राही कायम भएका प्रति घरपरिवारलाई २५÷२५ हजारका दरले ५० हजार रुपैयाँ दिने भनिए पनि सबै पीडितले त्यो रकम पाउन सकेका छैनन् । जाजरकोटका कुल ४८ हजार ५ सय १६ लाभग्राही मध्ये ४० हजार ४१ जना र रुकुम पश्चिमका कुल ३४ हजार ९ सय ९७ लाभग्राही मध्ये ३२ हजार ९ सय ९६ ले मात्र पहिलो किस्ता वापतको रकम पाएका छन् ।
उता सल्यानका ४ हजार ४ सय ७ कुल लाभग्राही मध्ये २ हजार ७ सय २५ ले मात्र पहिलो किस्ता पाएका छन् । यसैगरी जाजरकोटमा ६ हजार ६ सय ६३ र रुकुम पश्चिममा १६ हजारले दोस्रो किस्ता वापतको रकम पाएका छन् । सल्यानमा भने दोस्रो किस्ताको रकम बाँड्ने प्रक्रिया नै शुरु भएको छैन ।
भूकम्प पीडितको अस्थायी टहरा बनाउन भनेर हाल सम्म दुई किस्तामा गरेर जाजरकोटमा १ अर्ब १६ करोड ७६ लाख, रुकुम पश्चिममा १ अर्ब २२ करोड ४९ लाख र सल्यानमा ६ करोड ८१ लाख २५ हजार गरी कुल २ अर्ब ४६ करोड ६ लाख २५ हजार रुपैयाँ वितरण गरिएको छ ।
गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम पश्चिममा ३४ हजार ९ सय ९७ र सल्यानमा ४ हजार ४ सय ७ घरपरिवार प्रभावित भएका थिए ।
प्रतिक्रिया