तिहारका लागि मुस्ताङ बाट ४ हजार भेडा च्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङ बाट ४ हजार भेडा च्याङग्रा बिक्री भएको छ ।  

म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना शुरु भए देखि ४ हजार ४० भेडा च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैं पर्वका लागि ८ हजार भेडा च्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडा च्याङग्रा मात्र बजार पठाउने गरिएको छ । 
 
दशैं र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगु बाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दशैं तिहारमा भेडा च्याङग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भने, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।” 

जडिवुटी युक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रति गोटा  ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा  ३० हजार देखि ३३ हजारमा किसानहरु बाट खरिद गरेका छन् ।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा ५५ हजार सम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।
रासस 

प्रतिक्रिया