मोहनमान सैँजुको ४ दिनपछि आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा आज अन्त्येष्टि गरिएको छ ।
पूर्वउपाध्यक्ष सैँजुको अन्त्येष्टिमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलगायत आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जलि दिएको सँैजुकी छोरी मीता सैँजु प्रधानले जानकारी दिइन् ।
लामो समयदेखि पार्किनसन रोगबाट पीडित सैँजुको ८३ वर्षको उमेरमा सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । उनका छोरा विदेशबाट आउनुपर्ने भएकाले चार दिनपछि आज अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
सैँजुले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण र प्रवल त्रिशक्ति पट्टबाट उनि सुशोभित थिए ।
पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा बढी लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उनको परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया