प्रधानमन्त्री-मन्त्रीसँग गरेको भेटघाट र म्यासेजलाई अनुमतिबिना प्रचार गरियो, कारबाही गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी आर्यलले अनुमतिबिना आफ्नो निजी टेलिफोन संवादको विषय प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । 

उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेताहरुसँग गरेको भेटघाट र म्यासेजलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको टीकाटीप्पणीप्रति आपत्ति जनाएका हुन् ।

सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा कात्तिक २ गते पक्राउ परेपछि रास्वपाले नियमित सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।

राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपाका नेता तथा कार्यकर्ता विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सरकार विरुद्ध निरन्तर आन्दोलन भइरहेकै बेला रास्वपाका उपसभापति डिपी आर्यल र प्रमूख सचेतक सन्तोष परियार गत सोमबार मध्येराति प्रधानमन्त्री ओलीलाई बालुवाटार भेट्न गएका थिए ।

उपसभापति अर्याल र सचेतक परियारले प्रधानमन्त्री ओलीलाई भेट्नु पहिले डिपी आर्यलले गृहमन्त्री रमेश लेखकसँग एक्लै भेट गरेका थिए । र, परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न उनका स्वकीय सचिव कमल रावललाई समय मिलाउन भन्दै म्यासेज गरेको विषयले सामाजिक सञ्जालमा अनेकन टिकाटिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीसँग राजनीतिक सम्झौता गरेर सरकारी ठगि प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमुक्त गर्न खोजिएको कतिपयको भनाइ छ ।

दिनमा सरकारविरुद्ध चर्को आन्दोलन र नाराबाजी गर्ने रातिराति रवि लामिछानेलाई रिहा गर्नका लागि हारगुहार माग्दै प्रभानमन्त्री र गृहमन्त्रीसँग भेट गरेको आरोप लागिरहँदा बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उपसभापति अर्यालले पार्टी सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेताहरुसँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको बताए ।

पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गर्न कसैलाई नभेटको बताउदै उनले रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो भन्ने विषयमा छलफल गर्नका लागि मात्र प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटभाट गरेको बताए । 

आफ्नो निजी टेलिफोनबाट विभिन्न दलका नेताहरुसँग आफूले गरेको संवाद नियोजित ढङ्गले गैरकानुनी रुपमा प्रचार गरेर आफ्नो अनुमति बिना वैयक्तिक गोपनीयतामाथि दखल पुर्‍याउनेहरु सबैलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।

उपसभापति अर्यालले आफ्ना पार्टी सभापति रवि लामिछानेले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा विश्वस्त रहेको समेत बताए ।

उनको भनाइ जस्ताको तस्तै:

प्रतिक्रिया