पछिल्लो समय हराउन थाल्यो देउसी भैलोको मौलिकता
काठमाडौ । तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसी भैलोलाई लिइन्छ । तर, पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ । तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ । गाउँ, टोल र छिमेक संगीतमय बनेको छ । यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिड नै छ । उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन ।
पाइन्छन् त केवल ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीत । पहिलेका देउसीमा सोरठी, मारुनी नाच देखिन्थे भने अहिले ती देख्न त के सुन्न पनि छाडिसके । आधुनिकताको प्रभावले परम्परागत देउसीभैलो हराउँदै गएको बुढापाका बताउँछन् ।
प्रविधिको विकासले देउसीभैलोको मौलिकता हराएको युवाहरु पनि स्वीकार गर्छन् । ग्रामीण क्षेत्रमा अहिले पनि अग्रजबाट परम्परा र मौलिकता सिक्ने गरे पनि सहर बजारमा त्यो पाइँदैन । देउसी भैलो मात्रै नभई बागलुङमा रहेका अन्य मौलिक कला र संस्कृतिहरु पनि संकटमा पर्दै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया