शिक्षासेवी चैतन्य शर्माको निधन

काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो साँढे ४ बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा. देवराज अर्यालले जानकारी दिए ।

शर्माको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा रहेका र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिन लागिएको हो । हाल शर्माको शव अस्पतालमै राखिएको छ ।

प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए ।

 शर्माको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । शर्माले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम समेत गरेका थिए । यसैगरी प्रा.शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए । 

शर्मा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । शर्माले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरेका थिए भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार थिए ।  शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए । 
 

प्रतिक्रिया