कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
बागलुङ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बिति सक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।
निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथो पटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्क विहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकमा निर्माण व्यवसायी बाट चरम लापरवाही इएको तथा तिहार पछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने चेतावनी उनले दिए ।
पूर्वाधार विकास कार्यालय सँग २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभान सँग ठेक्का सम्झौता भएको थियो । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुर सँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असार सम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताए ।
कटिङ, नाली निर्माण तथा पर्खाल लगायत काम सम्पन्न भए पनि सडक कालोपत्र नहुँदा सास्ती भएको हो । “ २४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो”, देवकोटाले भने, “तिहार पछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ ।”
रासस
प्रतिक्रिया