स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय ५८ पुग्यो
एजेन्सी । स्पेनमा आएको भीषण बाढीका कारण देशभर १ सय ५८ जनाको ज्यान गएको छ ।
स्पेनमा पछिल्लो ५० वर्ष यताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस भन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बताइएको छ । १२ सय भन्दा बढी कामदार ड्रोनको प्रयोग गरी उद्धार अभियानमा खटिरहेका छन् ।
प्रभावित समुदायहरूको अवलोकन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूलाई अहिले सबै भन्दा महत्त्वपूर्ण कुरा जीवन बचाउनु रहेको बताएका छन् । बाढीले सबै भन्दा बढी प्रभावित केही शहरहरुमा माटो र भग्नावशेष बाट शव निकाल्न जनशक्ति परिचालन गरिएको छ ।
अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबै भन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा १ सय ५० जनाको ज्यान गएको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । बाढीले कयौँ सडक र शहरलाई नदीमा परिणत गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया