फूल बेच्न भ्याइ नभ्याई
कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइ नभ्याई छ । तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ । “तिहारका लागि फूलको माग असाध्यै छ । माग अनुसार फूल पुर्याउन भ्याइ नभ्याई छ”, उनले भने, “कोही बारीमै पुगेर फूल किनिरहेका छन् । कतिपयले फोन बाट फूलको माग गरेका छन् ।”
पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकलमा बिहानै देखि दौडधुप गरिरहन्छन् । फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेबा छन् उनी ।
तिहारमा हाल सम्म १५ हजारका फूल बिक्री गरेको रोकायाको भनाइ छ । “दिनमा एक पटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ । त्यस पछि दोधारा चाँदनीमै व्यस्त भइन्छ”, उनले भने, “तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो ।”
सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गरेका छन् । उनको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन् । प्रति किलोग्राम तीन सयका दरले फूल बिक्री भइरहेको उनले बताए । अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उनको भनाइ छ ।
“रामलीला लगायत कार्यक्रममा पनि फूल बिक्री भयो । तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ”, रोकायाले भने, “पोहोर साल पाँच सय किलोग्रामका दरले बिक्री भएको थियो । उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो ।” बाह्र कट्ठा जमिनमा फूल खेती गर्न ४५ हजार लगानी लागेको उनको भनाइ छ । भारत बाट फर्किएर रोकायाले दुई वर्ष अघि देखि फूल खेती थालेका हुन् ।
सुरुआतमा भारत बाट रोकायाले फूलको बीउ मगाएर खेती गरेका थिए । “अब बीउ ल्याउनुपर्ने अवस्था छैन । फूलको बेर्ना आफैँले खेतमा उत्पादन गर्ने गरेको छुँ”, उनी भन्छन्, “फूल र माला बेचेर वार्षिक एक लाख भन्दा बढी आम्दानी हुन्छ ।” असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । साउनमा खेतमा सारेको फूलको बेर्ना असोज देखि बिक्रीका लागि तयार हुने गरेको उनको भनाइ छ ।
रासस
प्रतिक्रिया