सुन तस्करीमा दोषी ठहर भएका माओवादी नेता महराका छोरा रिहा
काठमाडौं । सुन तस्करी गरेको आरोपमा दोषी ठहर भएका पूर्वसभामुख नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।
राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । अदालतले उनलाई १४ महिनाको जेल सजाय सुनाएको थियो । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो ।
नेता कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए ।
प्रतिक्रिया