वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार
कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको बिहीबार (आज) उद्धार गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाकी नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वर्षौंदेखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ ।
चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै शब्द भन्न सकिन् । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले उनि बोल्न सक्दैन् थिइन् ।
“कक्षा ६ मा पढ्दै गरेका बेला मानसिक सन्तुलन बिग्रिएपछि उपचार गराउन लग्यौँ”, जानकीका बुबाले भने, “औषधि सेवन गरेपछि केही महिना ठीक भइन्, ठीक भएको ठानेर औषधि गर्न छाडेपछि पुरानै अवस्थामा फर्किइन् ।” त्यसपछि धामी, झाँक्री सबै कहाँ पुर्याएर उपचार गराउँदा पनि ठीक नभएपछि कोठामा थुनेर राख्दै आएको उनको भनाइ छ ।
कोठामा नथुनेपछि जहाँ पायो त्यहीँ हिँडिदिने, जे पायो त्यही कुरा खाइदिने, शरीरमै दिसापिसाब गरिदिने, हातमा जे पर्यो त्यहीले हिर्काउने भएकाले थुन्न बाध्य भएको जानकीका बुबाको भनाइ थियो ।
जानकीलाई नगरपालिकाले पूर्ण अपाङ्गता भत्ताको रकम उपलब्ध गराउँदै छ । परिवारका सदस्यले भत्ताको रकम बुझ्ने तर पोषणयुक्त खानेकुरासँगै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, औषधोपचार नगर्ने गरेको जानकारी पाइएपछि मानव सेवा आश्रम पुर्याउनु परेको नगर उपप्रमुख पन्तले बताइन् ।
जानकीलाई थुन्ने गरिएको कोठा दुर्गन्धित र असुरक्षित अवस्थाको रहेको उनको भनाइ छ । मानव सेवा आश्रममा जानकीलाई ३ महिना राखिने भएको छ । त्यसपछि परिवारको जिम्मा लगाई उपचार गरिने बताइएको छ ।
प्रतिक्रिया