भियतनाममा आएको आकस्मिक बाढीले ५ जनाको मृत्यु
एजेन्सी । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन् ।
फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो । फिलिपिन्समा एक सय जनाभन्दा बढीको ज्यान लिएको थियो ।
बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ ।
रिपोर्टअनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैलासहितको बाढीको पानी बगिरहेको छ । यसैगरी तीन सयभन्दा बढी घर तथा लगभग एक हजार तीन सय हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सञ्चार माध्यामहरुले प्रसारण गरेका तस्बिरहरूले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाहरूले प्रभावित भवनहरू सफा गर्ने काम गरिरहेको देखाएको थियो ।
हाल यस क्षेत्रका नदीहरूको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ ।
भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ ।
विज्ञहरूले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन् ।
सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधील ३ सय ४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोढ डलरको आर्थिक क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया