कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन सेनका छोरा हुन मानेट नियुक्त

भदौ पाँच गते संसदमा विश्वासको मत लिने

हुन मानेट कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई आज राजा नोरोदोम सिहामोनीले प्रधानमन्त्री नियुक्त गरेका हुन । हुन सेनको अनुरोधपछि राजा सिहामोनीले एक शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरेको’ उल्लेख गरेका छन ।  यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उनको मन्त्रिपरिषदले भदौ पाँचका लागि तय गरिएको संसदमा विश्वासको मत लिनुपर्नेछ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभाबलाई नत्याग्ने बताउदै आएका छन । विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता  सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । सन् १९८५ मा सत्तामा आएपछि  सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । जुलाईमा भएको चुनावमा उनको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी सीपीपीले १ सय २५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितको थियो । विपक्षीलाई प्रतिबन्ध लगाएर निर्वाचन गरेको भन्दै  अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले निर्वाचनको निस्पक्षतामा प्रश्न उठाएका छन ।। 

प्रतिक्रिया