स्पेनमा बाढीका कारण ९५ जनाको मृत्यु

एजेन्सी । स्पेनमा आएको भीषण बाढीका कारण देशभर ९५ जनाको ज्यान गएको छ । 

स्पेनमा पछिल्लो ५० वर्ष यताकै खराब बाढीमा परेर ९५ जनाको मृत्यु भएको छ भने कयौँ जना बेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस भन्दा परको क्षेत्रमा ठूलो वर्षा भए पछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । 

बेपत्ताहरुको संख्या एकिन हुन सकेको छैन । ज्यान जानेको संख्या निकै धेरै हुन सक्ने सरकारी अधिकारीले बताएका छन । अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको थियो । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । पीडितले बाढी तीब्र गतिको सुनामी जस्तै रहेको प्रतिक्रिया दिएका छन् । वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । 

राष्ट्रपति सान्चेजले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै सम्पूर्ण स्पेन पीडित सँगै रोइरहेको बताएका छन । बाढीले कयौँ सडक र शहरलाई नदीमा परिणत गरेको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया