अझै फेरिएन नारायणी रङ्गशालाको स्वरुप
वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका सुनिल राउत कुर्मीले घर नजिकै रहेको नारायणी रङ्गशालाबाट फुटबल खेलेर हुर्किए । सोही रङ्गशालामा खेलेको खेल कौशलले उनलाई २०६०/६१ सालमा त १९ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य भएर पनि खेल्ने अवसर जुरायो ।
तर अहिले कुर्मीलाई आफैँलाई खेलाडी गराउन प्रेरित गरेको रङ्गशालाको जीर्ण अवस्था देखेर मन भतभती पोल्ने गरेको सुनाउछन् ।
कुर्मीले यही रङ्गशालामा हुँदै आएको विशाल गोल्ड कपदेखि अन्य विभिन्न फुटबल प्रतियोगितामा पनि सरिक भए । कुर्मी अहिले नारायणी रङ्गशालासँगै रहेको गौतम माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकको रुपमा कार्यरत छन् । “नारायणी रङ्गशाला अहिले पहिलोजस्तो रहेन ।
रङ्गशालाको तीनैतर्फका प्याराफिट भत्किएर धराप जस्तै भएका छन् । फुटबल खेल्ने मैदान पानी जमेर पौडी पोखरी जस्तै भएको छ,” उनले भने, “रङ्गशालाको उचित संरक्षण र संवद्र्धन नहुँदा नयाँ पुस्ताका खेलाडी उत्पादनमा खडेरी परेको छ ।”
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालापछिकै दोस्रो धेरै दर्शक अट्ने रङ्गशालाका रुपमा २०३८ सालमा नारायणी रङ्गशाला निर्माण गरिएको थियो । २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद हुँदा नारायणी रङ्गशाला तयार भएर सोही रङ्गशालामा सो प्रतियोगिता आयोजना गरिएको थियो । सुरुआती चरणमा १५ हजार दर्शक क्षमताको विकास गरिएको थियो ।
तराई–मधेश क्षेत्रकै ठूलो रङ्गशाला विगतमा राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अन्य स्थानीयस्तरका विभिन्न गोल्डकप प्रतियोगिता पनि भएका थिए । पछिल्लो समय रङ्गशाला परिसरका प्याराफिटका भौतिक पूर्वाधार जीर्ण र चिराचिरा भएपछि भने खेलुकदका गतिविधि खासै हुन सकिरहेका छैनन् ।
रङ्गशालाको तीनतर्फको प्याराफिटका पूर्वाधार जीर्ण रहेका छन् भने हालै निर्माण गरिएको दक्षिणतर्फको प्याराफिट राम्रो अवस्थामा भए पनि रङ्गशालाको मैदानको अवस्था भने अझै दयनीय छ । मैदानभरि घाँसले ढाकेको छ भने वर्षायाममा पानी जम्ने पोखरी हुने गर्छ । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको हो । रङ्गशाला १८ विघा क्षेत्रफलमा फैलिएको छ ।
वीरगञ्ज, महानगरपालिका, मधेश प्रदेश सरकार तथा सङ्घीय सरकारको यस रङ्गशालालाई व्यवस्थित गर्नेतर्फ ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ । अखिल नेपाल फुटबल सङ्घ पर्साका अध्यक्ष रोशन गुप्ता नारायणी रङ्गशाला जीर्ण भएर खण्डहर भएको बताउछन् ।
रङ्गशालाको भौतिक संरचना भत्किएसँगै राष्ट्रिय खेलकुद परिषद्ले करिब एक दशक अघि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो । सो डिपिआर अनुसार रङ्गशाला पुनर्निर्माणका लागि साढे दुई अर्बभन्दा धेरै रकम लाग्ने बताइएको थियो । सरकारले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन नगर्दा रङ्गशाला दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।
अध्यक्ष गुप्ताले नारायणी रङ्गशाला व्यवस्थित नहुँदा पर्साका फुटबलका गतिविधिमा असर पारेको बर्ता । नारायणी रङ्गशाला यसअघि मध्यमाञ्चल खेलकुद विकास समिति मातहत पर्ने गथ्र्याे । तर, मुलुक सङ्घीयतामा गइसकेपछि समिति अस्तित्वमा छैन । नयाँ प्रावधानअनुसार मधेश प्रदेश परिषद् बनाउनु पर्नेमा अहिलेसम्म कानुनको अभावमा रङ्गशाला राष्ट्रिय खेलुकद परिषद् मातहत नै पर्ने गर्छ ।
राखेपका अधिकृत मोहम्मद जेउल इस्लामले नारायणी रङ्गशालाको संरक्षण र रेख देखमा स्थानीयबासी र सरकारी निकाय दुवैका कमीकमजोरी रहेको बताए ।राखेपका अधिकृत इस्लामले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रङ्गशालाको पुर्ननिर्माणका लागि दातृ निकायसँग पहलकदमी गर्ने प्रयास गरिरहेका बताए ।
सङ्घीय सरकारका प्रायः सबैजसो खेलकुद मन्त्रीले यस रङ्गशालाको स्थलगत निरीक्षण गरेका छन् । भ्रमणको क्रममा उनीहरुले नारायणी रङ्गशालाको पूर्वाधार निर्माण आफ्नो प्रथामिकतामा रहेको बताउने गर्छन् । तर आवश्यक बजेट व्यवस्थापन नहुँदा यसको स्तरोन्नति हुन सकेको छैन ।
वीरगञ्ज क्रिकेट मैदानको हालत पनि उस्तै
नारायणी रङ्गशाला परिसरभित्रै रहेको वीरगञ्ज क्रिकेट मैदानको पनि अवस्था उस्तै छ । चार विघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान पनि मुआब्जा र संरक्षणको अभावले बेहाल अवस्थामा रहेको छ । पर्सा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले पनि वीरगञ्ज क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावकै कारणले संरक्षण गर्न नसकिएको गुनासो गरे।
वर्षायाममा फुटबल र क्रिकेट मैदानमा दुवैतर्फ व्यवस्थित ढङ्गले पानीको निकास नहुँदा पनि समस्या यथावत् नै छ । अहिले वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’ निर्माणको काम भने अघि बढाइएको छ ।
रासस
प्रतिक्रिया