कम्युनिस्ट पार्टी अलग-अलग हुनु राम्रो होइन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रिरयामा बोल्दै नेपालको भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने बताएका हुन् ।
‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ । स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो’, उनले भने, ‘जबसम्म कम्युनिस्ट भ्रष्टाचारमुक्त हुन सक्दैन समस्याको समाधान हुन सक्दैन । हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ । सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन् । कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ ।’
पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको चिन्ता व्यक्त गर्दै कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्ने आग्रह गरे ।
नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया