नेपाल र बंगलादेशबीचको खेलमा सबै टिकट बिक्री, नाराबाजी गर्दै फर्किए समर्थक
काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीच हुने खेलको सबै टिकट बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्यामा मात्र टिकट बेचेको हो ।
दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भएपनि एन्फाले फाइनल खेलमा १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।
एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ ।
माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भएकाले भीआईपीतर्फको पास पनि बढेको एन्फाले बताएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै २० प्रतिशत सिट खाली राखिएको एन्फाले जनाएको छ । टिकट पाउने आशमा दर्शकहरू बिहानैदेखि लाइनमा बसेका थिए । तर लाइन बसेका सबैले टिकट भने पाएनन् । विहान ६ बजेदेखि टिकटको लागि लाइनमा बसेका समर्थकले टिकट नपाएपछि नाराबाजी गर्दै घर फर्किएका छन् ।
रंगशालाको क्षमता १५ हजार मात्रै भएपनि सेमिफाइनलको खेलमा एन्फाले करिब २० हजार दर्शक थिए ।
साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साफ वुमेन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न पाएको छैन ।
प्रतिक्रिया