‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ उपयुक्त, प्रतिनिधि सभामा ३२ नभइ ३० सिट मात्रै !
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाइले माओवादी केन्द्रलाई ‘प्रचण्डपन्थी’ भन्नुपर्ने बताएका छन् ।
उनले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने बताएका हुन् ।
माओवादी आन्दोलन केही स्वाभाविक कमी कमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै सबैभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो । जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको थियो । तर, ‘त्यो आन्दोलनलाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो । त्यस्तो भएन् र हुन् पनि सकेन् ।’
परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि माओवादीको यो दुर्दशा भएको उनको भनाइ छ ।
अध्यक्ष भट्टाइले प्रचण्डको पार्टीको संसदीय सीट संख्या ३२ नभइ ३० मात्रै भएको दाबी गरेका छन् ।
उनले थपे, ‘२०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेका मात्र हुन् ।’
साथै गोरखा र सर्लाहीका २-२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको बताउदै उनले भने, ‘त्यो घटाउँदा कति हुन्छ आफैं बुझ्नुहोला ।’
प्रतिक्रिया