भाइटीका आउन पाँच दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल
काठमाडौं । भाइटीका आउन पाँच दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, मखन गल्ली, महाबौद्ध, नयाँ सडक, नयाँ बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जाउलाखेल लगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल बढेको हो ।
तिहारका सामान किन्नेको भिड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारका बेला भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइमसलाको भाउ बढेको छ । भाइमसलामा प्रयोग हुने नरिवल, पेस्ता, छोकडा, काजु, देशीबदाम, किसमिस लगायतका सामग्रीको मूल्य बढेको हो । दसैँअघिसम्म प्रतिकेजी एक हजार ५ सय रुपैयाँ रहेको काजुको मूल्य बढेर प्रतिकेजी दुई हजार पुगेको छ ।
व्यापारीहरू भने तिहारमा भाइमसलाको माग बढी हुने भएकाले केही मूल्य बढ्नु स्वाभाविक भएको बताउछन । काजु र पेस्ता आयातबाहेक देशीबदाम, ओखर, किसमिस, खुर्पानी, छोकडा र सुकमेल तिहारकै कारण बढेको व्यापारीको भनाइ छ । गत वर्षको तुलनामा १० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ । भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक बर्षको ३ महिना साउनदेखि असोजको अवधीमा १ अर्ब ५२ करोड ६४ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख २९ हजार ९ सय ६३ किलो ड्राई फ्रुट विभिन्न मुलुकबाट आयात भएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ७२ करोड ७ लाख रुपैयाँबराबरको २ करोड २ लाख २४ हजार ८ सय ५३ किलो आयात भएको थियो ।
प्रतिक्रिया