प्लाष्टिकका फूल निषेध, काठमाडौं महानगरले तोक्यो फूल बेच्न ४६ ठाउँ
काठमाडौं । महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।
गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ । यससँगै व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन महानगरले अनुरोध गरेको छ । महानगरले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने तथा यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया