नर्सरी व्यवसायीले देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले नर्सरी व्यवसायीले देशमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा चलेको तिहार फ्लोरा एक्स्पो २०८१ को समापन कार्यक्रममा उनले अधिकांश युवा विदेशीने क्रम चलिरहेको अवस्थामा नर्सरी व्यवसायीले स्वदेशमै बसेर काम गर्नु प्रशंसनीय भएको बताएका हुन् ।

“यहाँहरूले देशमै केही गर्न सकिन्छ भन्ने सम्भावनालाई वास्तविकतामा रुपान्तरण गर्नुभएको छ । विदेश जाने लहर चलेका बेला देशमै उद्यम गर्ने विषय धेरै महत्वपूर्ण छ”, उपाध्यक्ष सापकोटाले भने ।

कात्तिक ९ गतेदेखि सुरु भएको मेलामा ६५ वटा व्यवसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रका तीन र प्रतिस्पर्धात्मक दुईवटा गरी ७० स्टल रहेका थिए । 

सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले एक्सपो अपेक्षा गरेभन्दा राम्रो भएको बताए । उनले भने, “पाँचदिने मेलामा ४० हजारले अवलोकन गरे र ७२ लाखभन्दा माथिको कारोबार भएको छ । जुन हामीले सोचेको भन्दा राम्रो हो ।”

मेलामा तिहारलाई लक्षित गरी गोदावरी, मखमलीलगायत फलफूल तथा कृषि सामग्री, बीजविजन, अर्गानिक तथा रसायनिक मल प्रर्दशनी तथा बिक्री वितरणका लागि राखिएका थियो ।

प्रतिक्रिया