मध्यराती भेट्न गएका रास्वपा नेतालाई ओलीले भने- सरकारले प्रतिवेदन कार्यान्वयन गर्यो, कसरी प्रतिशोध भयो ?
काठमाडौं । सोमबार मध्येराती प्रधानमन्त्री केपी शर्मा ओली, रास्वपा उपसभापति डीपी अर्याल र प्रमूख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा भेट्न गएका रास्वपा उपसभापति अर्याल र सचेतक परियारले आधा घण्टाको भेटमा सरकारलाई सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको भन्दै आफूहरुमाथि प्रतिशोध नसाध्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग छलफल गर्दै उपसभापति अर्याल र सचेतक परियारले सहकारी ठगी प्रकरणमा अन्य ठुलठुला व्यक्ति जोडिएको भएपनि पार्टी सभापति लामिछाने मात्रै मुख्य जिम्मेवार भएको जस्तो गरी सरकारले प्रतिशोध साँधेको बताएका थिए ।
आफू त सुरुमा संसदीय समिति नबनाउँ भन्ने सोचाइमा रहेको रास्वपालाई थाहा थियोे भन्दै ओलीले उपसभापति अर्याल र सचेतक परियारको जवाफ फर्काउँदै भने, ‘मैले त सुरुमा नबनाउँ भनेको समिति पनि बन्यो, त्यहाँ तपाईंकै सांसद पनि थिए । कि त आफ्नै सांसद पनि रविजीप्रति पूर्वाग्रही भए भन्नुपर्यो, होइन भने सरकारले त प्रतिवेदन कार्यान्वयन गर्न बाध्य भयो ? किन प्रतिशोध भन्नुपर्यो ?’
सहकारी ठगि तथा संगठित अपराधको कसुरमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमुक्त गर्नका लागि प्रधानमन्त्रीसँग भित्रभित्रै लबिङ गरिरहेको विषय चर्चामा आएको छ ।
सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेपछि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । रास्वपाले विशेषगरी प्रधानमन्त्री ओली लक्षित आन्दोलन गरिराखेको हो ।
दिनमा सरकार विरुद्ध चर्को नाराबाजी गर्ने रास्वपाका नेताहरु मध्येराति प्रधानमन्त्री ओलीलाई भेट्न गएको विषय निकै अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री ओलीलाई सबैभन्दा भ्रष्टाचारी नेता भएको बताउँदै आएका रास्वपा नेताहरु लामिछानेको रिहाइको लागि उनै प्रधानमन्त्रीसँग हारगुहार मागिरहेका छन् ।
रास्वपा नेताहरुले सरकारबाट हुने न्यायोचित छानबिनमा आफ्नो साथ रहने भन्दै प्रहरीले रवि लामिछानेलाई दुर्व्यवहार गरेको कुरा प्रधानमन्त्री समक्ष राखेका थिए ।
रास्वपा प्रमुख सचेतक परियारका अनुसार प्रधानमन्त्री ओलीले प्रतिशोध र पूर्वाग्रह राखेर कसैलाई पनि अन्यायपूर्ण व्यवहार नगरिने आश्वस्त गराएका थिए ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारले संसदीय समितिको निर्देशन पालन गर्न बाध्य भएको भन्दै प्रधानमन्त्रीले कसैलाई काखापाखा गर्ने जस्तो व्यवहार नगरिने विश्वास दिलाए ।
‘साथीहरुलाई सम्झाउनुहोस्, राज्यले पूर्वाग्रह राखेर चल्न सक्दैन । तर कानुनी निर्देशनबाट त कोही पनि दायाँबायाँ हुन मिलेन,’ आलीको भनाइ उधदृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
रास्वपाले कानुनी पक्रियालाई सघाउन छाडेर अनुसन्धान र न्यायलयलाई प्रभावित पार्ने ढङ्गले गरिरहेको आन्दोलनको केहि औचित्य नभएको ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उपसभापति अर्याल एक्लैले गृहमन्त्री रमेश लेखकसँग पनि भेटघाट गरेको बताइएको छ ।
प्रतिक्रिया