ललिता निवासमा दोषीलाई कारबाही गर्न भट्टराईको आग्रह, नेपालद्वारा निस्पक्ष छानविनको माग
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानविन गरी कारबाही गर्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमा लेखेर उनले ललितानिवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानविन भए पूर्णरूपले सहयोग गर्ने बताएका हुन । उनले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानविन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको भए पनि कानूनअनुसार कारबाही गर्नुपर्ने उल्लेख गरेका छन । उनले आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा पनि सहयोग गरेको भन्दै त्यतिवेला पत्रिकामा प्रकाशित आफ्नो बयानको ‘कटिङ’ समेत संग्लन गरेका छन ।
माधव नेपाल
उता नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै खालका भ्रष्टाचारको छानबिन गरेर दोषिलाई कारबाही हुनुपर्ने बताएका छन् । आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका नेपालले सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा दृढ मान्यता रहेको बताएको उनको सचिवालयले जनाएको छ । हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा माधव नेपाल जानकार रहेको पनि सचिवालयले उल्लेख गरेको छ । नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान इस्तानवुल हुदै नेपाल जेनेभा प्रस्थान गरेका हुन् । उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।।
प्रतिक्रिया