सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई

राजस्व अनुसन्धान विभागले करिव एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । विभागले आइतबार प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनले हालसम्म प्राप्त प्रमाणले सुन तस्करी प्रकरण अन्तरदेशीय अपराध भएको पाइएकाले दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको बताए । 
राजस्व विभागले जिम्मा लगाएसँगै अब सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गर्नेछ । विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया