पाल्पामा सयपत्री फूलको माग धेरै

रामपुर (पाल्पा) । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ ।

तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न  व्यस्तता बढ्न थालेको छ ।

यस व्यवसायबाट वार्षिक  दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनीहरु बताउँछन्  ।उनीहरुले चार रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उनीहरुको भनाई छ  ।

यसपटकको तिहारमा  दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उनीहरुको अनुमान छ ।

यहाँ उत्पादन भएको फूल प्रतिकिलो  पाँच सय खुद्रा, होलसेल  चार सय, प्रतिमाला  एक सय ५० खुद्रा, होलसेल  एक सय २० रुपैयाँकायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापा बताउछन् । रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिए ।

उनीहरुले बिगत पाँच÷छ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहेका छन् । यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ ।  दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहेका छन् । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ ।
रासस

प्रतिक्रिया