केन्द्रीय समिति बैठकपछि नेताहरुबीचको आशंका अन्त्य भएको अध्यक्ष दाहालको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको बैठकबाट पार्टीभित्रका नेताहरूबीच भएको एकअर्काप्रतिको आशंका अन्त्य भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै उनले अव पार्टी एकढिक्का भएको बताएका हुन । अध्यक्ष दाहालले सरकारले थालेका सकारात्मक कामहरू जनतासम्म स्थापित गरेर अघि बढने बताए । उनले बीचमा केही अलमलिएको भएपनि अब एकढिक्का भएर अघि बढ्ने दाबी पनि गरे । सो क्रममा अध्यक्ष दाहालले तीन महिने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताए । अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने उनले बताए । जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिने अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।  अभियान सफल बनाउनका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ । जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल छन् । यस्तै मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् भने सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।
 

प्रतिक्रिया