बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबार ‘क्रान्ति सङ्ग्रहालय’ बन्ने

एजेन्सी । बङ्गलादेशकी निरङ्कुश पूर्वप्रधानमन्त्री शेख हसिनाको एक समयको भव्य दरबारलाई उनलाईलाई सत्ताच्युत गर्ने क्रान्तिको सम्मानमा सङ्ग्रहालयमा परिणत गरिने अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले बताएका छन् ।

“यो सङ्ग्रहालयले उहाँको कुशासन र जनताले उहाँलाई सत्ताबाट हटाउँदाको क्रोधको स्मृतिलाई संरक्षण गर्नुपर्छ”, नोबेल शान्ति पुरस्कार विजेता युनुसले भने ।

चौरासी वर्षीय लघुवित्त अग्रणी युनुसलाई अगस्ट ५ मा हसिनालाई हेलिकोप्टरमार्फत भारत भाग्न बाध्य पार्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि देशको ‘मुख्य सल्लाहकार’ मा नियुक्त गरिएको थियो ।

हसिनाको १५ वर्षे शासनकालमा उनका राजनीतिक विरोधीहरूको व्यापक थुनछेक र न्यायबाहिरको हत्या लगायत व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो र बङ्गलादेशी अदालतले यस महिना उहाँको पक्राउका लागि वारेन्ट जारी गरेको छ ।

हसिनाको पतनअघि धेरैजसो कठोर प्रहरी दमनमा सात सयभन्दा बढी मानिस मारिएका थिए । उनि भाग्दा हजारौँले उनको पूर्व निवासमा धावा बोलेका थिए । यसलाई सरकारले ‘दमनको प्रतीक’ भनेको थियो ।

हसिना भागेपछिको अराजकतामा लुटिएको र क्षतिग्रस्त भएको दरबारको भित्तामा उनको पतित शासनको निन्दा गर्ने भित्तेलेखन छन् ।

सङ्ग्रहालयमा हसिनाको शासनले सञ्चालन गरेको कुख्यात ‘ऐनाघर’ थुनाकेन्द्रको प्रतिकृति समावेश गरिनेछ । हसिना शासनकालमा यहाँका थुनुवाहरूले आफूबाहेक अरू कसैलाई देख्न नपाउने व्यवस्था भएकाले यसलाई ऐनाघर नाम दिइएको थियो ।

“ऐनाघरले दर्शकहरूलाई गुप्त कैदीहरूले भोगेको यातनाको याद दिलाउनुपर्छ”, युनुसले भने ।

हसिनाको पतनले कम्तीमा दुई दिनको अराजकता निम्त्यायो । यसमा उनका बुबा एवं बङ्गलादेशका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको सङ्ग्रहालयको लुटपाट पनि समावेश थियो ।

युनुसको कार्यालयका प्रेस अधिकारी अपूर्व जहाँगीरले डिसेम्बरसम्ममा सङ्ग्रहालय निर्माण सुरु हुने बताए । “सङ्ग्रहालयको निर्माण अहिलेसम्म सुरु भएको छैन तर चाँडै सुरु हुनेछ”, उनले भने ।

बङ्गलादेश छोडेपछि हसिना सार्वजनिक रूपमा देखिनुभएको छैन । सतहत्तर वर्षीया हसिनाको अन्तिम आधिकारिक अवस्थिति भारतको राजधानी नयाँदिल्ली नजिकैको एक सैन्य वायुसेना अड्डा थियो ।

प्रतिक्रिया