नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्यालाई

सङ्खुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पञ्चकन्या युथ क्लबले जितेको छ ।

महेन्द्र माविको खेलमैदानमा आज भएको प्रतियोगिताको फाइनल खेलमा पञ्चकन्याले धनकुटाको चुलाचुली युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफसम्म ०–१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोस्रो हाफपछि लगातार दुई गोल गर्दै उपाधि कब्जा गरेको हो । चुलाचुली युवा क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको छ । 

फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यस्ता प्रतियोगिताले कोशी प्रदेशको खेल क्षेत्रमा सहयोग पुग्ने बताए ।

एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रतियोगिता यही कात्तिक ७ गतेदेखि सुरु भएको थियो । 

प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिमसहित विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहेको थियो । विजयी टिमलाई नगद २ लाख, कप र मेडलले सम्मान गरिएको छ । उपविजेताले नगद १ लाखसहित कप र मेडल प्राप्त गरे । त्यस्तैगरी सेमी फाइनलमा पुगेका दुई टिमलाई नगद २५/२५ हजार प्रदान गरिएको आयोजक एड्भान्स क्लबले जनाएको छ । 

उत्कृष्ट गोलरक्षक चुलाचुली युवा क्लब धनकुटाका निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जीवन मगर, सर्वाधिक गोलकर्ता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लबका जोन जोरी घोषित भए । उनीहरुले नगद र ट्रफी प्राप्त गरे । 

आयोजक एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया