बिन्दा र उषाकिरणले बुझाए स्पष्टीकरण, पार्टीको ओज बढाउने कुरा गर्दा कारबाही आवश्यक नरहेको स्पष्टोक्ति

काठमाडौ। नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।
व्यापारी मीनबहादुर गुरुङबाट जग्गा सहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयको विरोधमा पाण्डे र तिम्सेनाले गरेको सार्वजनिक टिप्पणीमा महासचिव शंकर पोखरेलले एक साताको समय दिएर स्पष्टीकरण माग गरेका थिए।  

पाण्डे र तिम्सेनाले स्पष्टीकरणको जवाफमा माफी मागेका छैनन्। बरु उनीहरूले पार्टीको गरिमा र छविलाई थप माथि उठाउन सार्वजनिक रूपमा उठेका विषयलाई छलफलको विषय बनाउनुपर्ने उल्लेख गरेका छन्।
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले आफूहरुमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको जवाफ पठाएका छन्।

जवाफमा पाण्डेले ब्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको बताएकी छिन्। ‘सामाजिक सञ्जालमा जे लेखेको हुँ, त्यसैलाई व्याख्या गरेको छु’, पाण्डेले भनिन् ।
केन्द्रीय सदस्य तिम्सेनाले पनि आफ्नो अभिव्यक्तिले पार्टीलाई अहित नगरेको बताइन्। ‘मैले जे बोलेको हुँ, त्यो कुराले पार्टीको मर्यादा घट्दैन, बढ्छ’ तिम्सेनाले भनिन्, ‘एमालेको ओज बढाउने कुरा गर्दा मलाई कारबाही गर्नु आवश्यक छैन।’आफ्नो अभिव्यक्तिले पार्टीलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने तर्क जवाफमा दिएको उनले बताइन्।

प्रतिक्रिया