विपदको एक महिना वित्दा पनि क्षति विवरण संकलन भएन, पुर्नस्थापना नहुँदा पीडितहरुको विचल्ली

काभ्रे। अविरल वर्षातका कारण बाढी र पहिरोबाट विपदको एक महिना वित्दा पनि काभ्रेका स्थानीय तहले अझै क्षतिको विवरण निकाल्न सकेका छैनन। चिसो सुरु भएसँगै नागरिकहरुको जीवन कस्टकर बनेपनि स्थानीय तहले पुर्ननिर्माणमा चासो नदिएको गुनासो बढन थालेको छ। बाढीवाट जिल्लाका १३ स्थानीय तह मध्ये रोशी, बेथान्चोक, पनौती बढी प्रभावित भएका छन। बनेपा र धुलिखेल संकटग्रस्त पालिकामा नपरे पनि क्षतिका हिसावले धुलिखेलमा एक अर्ब भन्दा धेरैको क्षति भएको  छ। ११ वटा पालिका संकटग्रस्तमा हुँदा धुलिखेल र बनेपालाई छुट्टाएको भन्दै दुई नगरले आपत्ति जनाएका छन। धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सहित वडाअध्यक्षहरुको टोलीले शहरी विकास मन्त्री र गृहमन्त्रीलाई भेटेर संकटग्रस्त पालिकामा समावेश गर्न ध्यानाकर्षण गराएका छन्। असोज १०–१२ मा परेको अविरल वर्षातका कारण बाढी र पहिरोबाट ७८ जनाको निधन भएको छ। ६ जना अझै बेपत्ता छन् । विपत्तिमा परेर ७९ जना घाईते भए । नीजि आवासतर्फ ३ हजार ५ सय घर पुर्ण क्षति भएका छन। आंशिक क्षति ६ हजार देखि ७ हजार वटा घरहरु क्षति भएको अनुमान गरिएको छ। सरकारी भवन पूर्ण रुपमा १०–१५ वटा क्षति भएका छन्। सार्वजनिक भवन २५–३० वटा पूर्ण क्षति भएका छन् । ६ सय ५५ किमी सडक अवरुद्ध भएको छ । पुल तर्फको ४८ वटा सडक पुलमा क्षति पुगेको छ। जसमध्ये ७ वटा पूर्ण क्षति भएको छ। 
 

प्रतिक्रिया