आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने खेलकुद मन्त्रीको प्रतिबद्धता

काठमाडौ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन ।  गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई आज सम्बोधन गर्दै मन्त्री चौधरीले युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको बताएका हुन । मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको भन्दै चिन्ता समेत प्रकट गरे । विदेशी शिक्षकहरु ल्याएर पढाउनुपर्ने बाध्यता देखिएको भएपनि नेपाली युवाहरु आइटीमा अगाडि बढेको र नेपालमै खर्ब हाराहारी आम्दानी गर्नु सुखद भएको उनको भनाइ छ । पूर्वकानुनमन्त्री एवं एमाले नेता पदम गिरीले नयाँ पुस्तालाई नेपालको राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताए । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको  बताइन । राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उनको भनाइ छ । कांग्रेस नेता एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विमानस्थलको भिड खुसीको कुरा भएको बताए । एमाले युवा नेता अब्दुस मियाले बसाइँसराइ प्राकृतिक प्रक्रिया भएको बताए । एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरुलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताए । 
 

प्रतिक्रिया