एभिन्यूज मौलिक देउसी-भैलो समूह प्रतियोगिता सुरु, प्रथम हुनेलाई १ लाख ११ हजार भेटी

काठमाडौं। नेपालीहरुको महान पर्व तिहारको अवसरमा एभिन्यूज खबरले आयोजना गरेको मौलिक देउसी-भैलो समूह प्रतियोगिता आजवाट सुरु भएको छ। मौलिक कला,संस्कृति परम्परा र रीतिथिती जगर्ना गर्ने उद्येश्यले आयोजित प्रतियोगिता आज सोमबारवाट महाराजगञ्जस्थित एभिन्यूज खबर टेलिभिजनको केन्द्रिय कार्यालयको प्राङ्गणमा सुरु भएको हो। १२ वटा समुहको सहभागिता रहेको सातौं संस्करणको यो प्रतियोगिता आज र भोलि संचालन हुनेछ ।    

प्रतियोगितामा सुरक्षाश्वर महादेव खैजेडी भजन समूह, अरुण उपत्यका साँस्कृतिक अनुसन्धान केन्द्र नेपाल तथा संखुवासभा कलाकार चौतारी, श्रृजनशिल महिला नौमती बाजा समूह, सिखडा श्रृजनशिल महिला समूह सहभागी रहेका छन्। त्यस्तै  अर्घाखाँची देउसी भैलो समूह, मिन्च्यायम केलाङ्ग समूह उपत्यका, रानीपोखरी कृषि सहकारी संस्था, सल्यानी कलाकार समूह, चिरायु एजुकेशन एकेडेमी, चम्पन साँस्कृतिक समूह, अर्घाखाँची मालारानी समूह र गोकर्णेश्वर यूवा क्लवले पनि आफ्नो मौलिक प्रस्तुति दिनेछन्। प्रतियोगिता अन्र्तगत आज चार वटा समुहको प्रस्तुति रहनेछ भने आठ वटा समुहको प्रस्तुति भोलि मंगलवार हुने एभिन्यूज खबरले जनाएको छ  । 

प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ११ हजार १११ रुपैयाँ ११ पैसा भेटी र देउसी भाग प्राप्त गर्नेछन्। त्यसैगरी द्वितिय हुने समूहले ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा भेटी र देउसी भाग प्राप्त गर्नेछन् भने तेस्रो हुने समूहले ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा भेटी र देउसी भाग प्राप्त गर्नेछन्।  
बिगत वर्षहरुमा पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्ने उद्येश्यले एभिन्यूजले देउसी- भैलो प्रतियोगिताको आयोजना गर्दै आएको थियो। मुलुक भर छरिएर रहेका तर ओझेलमा परेका अनेकन जातजाती भेषभुषा सहित मौलिक कला र भाकाको संरक्षण र प्रर्वदन हेतु यस्ता कार्यक्रमहरु संचालन गरेको एभिन्युज खबरले जनाएको छ। 

प्रतिक्रिया