प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो ।

महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या तथा समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ ।

सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएको छ ।सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारलले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायीले उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए ।

उनले सङ्गठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने  सुझाव दिए ।सो क्रममा एमालेका जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाल, सहइञ्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा. युवराज खतिवडालगायत सहभागी थिए ।
 

प्रतिक्रिया