२ करोड भोट ल्याएपनि रवि लामिछानेले ठगि नगरेको भन्ने हुँदैन् : रघुजी पन्त
काठमाडौं । एमालेका प्रतिनिधि सभा सांसद रघुजी पन्तले सबैभन्दा बढी भ्रष्टाचारमा मुद्दा चलेका व्यक्ति पूर्वगृहमन्त्रीहरु रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा बोल्दै सांसद पन्तले पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी र रवि लामिछानेलगायतको नाम लिँदै उनले चुनावमा धेरै मत ल्याउँदैमा उसले भ्रष्टाचार गर्दैन भन्न नसकिने बताए ।
‘कसैले दुई करोड मत नै किन नल्याओस्’, रास्वपाका सभापति रवि लामिछानेलाई इङ्कित गर्दै सांसद पन्तले भने, ‘भ्रष्टाचारको मुद्दामा अनुसन्धान हुनुपर्छ ।’
उनले न्यायपालिकाले अनुमति दिएर अनुसन्धान भइरहेको छ भने नाराजुलुस गर्नु नहुने बताए ।
राज्य व्यवस्था समितिमा भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि शुभचिन्तकहरुले भेला चिन्तन गर्नु सामान्य भएको बताएकी थिइन् ।
सांसद कार्कीको यस्तो अभिव्यक्तिको जवाफ दिँदै पन्तले जतिसुकै लोकप्रिय मत ल्याएपनि उसलाई अभियोग वा आरोप लागेको छ भने न्यायिक अनुसन्धान हुनुपर्ने र त्यसविरुद्ध नाराबाजी वा प्रदर्शन गर्न नहुने बताए ।
प्रतिक्रिया